काठमाडौं - नेपाली कांग्रेसले देशका २०१ स्थानीय तहको प्रमुख जितेको छ । 

गत वैशाख ३० गते देशका ७५३ स्थानीय तहमा भएको निर्वाचनमा हालसम्म अन्तिम मतपरिणाम आएकामध्ये २०१ पालिकाको प्रमुखमा कांग्रेसका उम्मेदवार विजयी भएका हुन् । मतगणना भइरहेका पालिकामध्ये १२० वटाको प्रमुखमा अझै पनि कांग्रेका उम्मेदवारले अग्रता लिइरहेका छन् । 

यस्तै, हालसम्म अन्तिम मतपरिणाम आएका पालिकामध्ये १९२ को उपप्रमुख तथा उपाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भइसकेका छन् । मतगणना भइरहेकामध्ये ९८ पालिकाको उपप्रमुख तथा उपाध्यक्षमा कांग्रेसका उम्मेदवारले अग्रता लिइरहेका छन् । 

साथै २०७४ सालको स्थानीय तह निर्वाचनमा सबैभन्दा बढी पालिका जितेको नेकपा एमाले भने दोस्रो हुने प्रक्षेपण छ । हालसम्म एमालेले  १ सय २२ स्थानीय तहमा जित हासिल गरेको छ भने ७५ स्थानीय तहमा अग्रता लिइरहेको छ । 

नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा रहेको छ । माओवादीले ८४ स्थानीय तहमा जित हासिल गरेको छ भने ३१ स्थानीय तहमा अग्रता लिइरहेको छ । एकीकृत समाजवादीले ७ स्थानीय तहमा जित निकालेको छ भने १४ स्थानीय तहमा अग्रता लिइरहेका छन् । जनता समाजवादी पार्टीले ५ स्थानीय तहमा जित निकाल्दा २८ स्थानीय तहमा अग्रता लिइरहेको छ । लोकतान्त्रिक समाजवादी पार्टीले भने १० स्थानीय तहमा अग्रता लिइरहेको छ । स्वतन्त्र र अन्य राजनीतिक दलका उम्मेदवारहरूले १२ स्थानीय तहमा जित हासिल गरेका छन् भने १६ स्थानीय तहमा अग्रता लिइरहेका छन् ।