काठमाडौं - हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । यसको प्रभाव आज (सोमबार) दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । मौसम पूर्वानुमान महाशाखाद्वारा आज जारी मौसम बुलेटिनका अनुसार देशको पहाडी भू–भागको केही स्थानमा तथा बाँकी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । देशका उच्चपहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको सो बुलेटिनमा उल्लेख छ ।

महाशाखाका अनुसार आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान र अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाका साथै एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ । देशका उच्चपहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

पछिल्लो ६ घण्टामा कहाँ कति पर्यो पानी ?

पछिल्लो ६ घण्टामा देशैभरि उल्लेख्य वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो ६ घण्टामा कोशीदेखि सुदूरपश्चिमसम्मै उल्लेख्य वर्षा भएको छ । एक–दुई वटा केन्द्रका धेरै भारी, भारी वर्षा भएको छ भने अधिकांश केन्द्रमा मध्यम वर्षा मापन भएको छ । विभागका अनुसार पछिल्लो ६ घण्टामा गोरखाको एग्रोमेटमा १०३ मिलिमिटर वर्षा भएको छ । चितवनको चर्छरे केन्द्रमा १०९.४, कपिलवस्तुको भगवानपुरमा १०९.६ मिलिमिटर वर्षा भइको छ ।

अर्घाखाँचीको राङसिङमा ९६.४, बाराको रजुवामा ८१.८, झापाको दमकमा ७२.२, सप्तरीको रुपनी बजारमा ६३.४ मिलिमिटर वर्षा भएको छ । नवलपरासीको देउराली केन्द्रमा ६७.२ मिलिमिटर वर्षा भएको छ । पछिल्लो १२ घण्टामा काठमाडौँमा पनि मनग्य वर्षा भएको छ । विभागका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल केन्द्रमा पछिल्लो १२ घण्टामा ६२ र कपन केन्द्रमा ६१.४ मिलिमिटर वर्षा भएको छ ।