काठमाडौं - उपत्यकामा पछिल्लो २४ घण्टायता एक हजार ७४६ जना कोरोनाभाइरस संक्रमित थपिएका छन्। थपिएकामध्ये काठमाडौंका मात्र १४५१ जना रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भक्तपुरमा १४३ र ललितपुरमा १५२ जनामा संक्रमण पुष्टि भएको छ। 

पछिल्लो २४ घण्टायता नेपालमा भने ३१६७ जनामा कोरोना संक्रमण देखिएको छ। यससँगै नेपालमा हालसम्म संक्रमित हुनेको संख्या १२९३०४ जना पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज निको हुनेको संख्या १८०० जना छ। यससँगै हालसम्म संक्रमणबाट निको हुनेको संख्या ८९८४० जना पुगेको छ।

आजको पीसीआर १५४३८ रहेको छ। मुलुकमा हाल सक्रिय संक्रमितको संख्या ३८७३७ जना रहेको छ। त्यसमध्ये संस्थागत आइसोलेसनमा १३२९९ जना र होम आइसोलेसनमा २५४३८ जना रहेका छन्। हाल क्वारेन्टिनमा ४७१७ जना रहेका छन्। 

आईसीयूमा २९० र भेन्टिलेटरमा ६६ जनाको उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।