काठमाडौं - भारतको जम्मु-कश्मीरमा भएको आतंकवादी हमलामा भारतीय सेनामा कार्यरत एक नेपालीको मृत्यु भएको छ ।

बुधबार जम्मु-कश्मीरको नौशहरा क्षेत्रमा सर्च अपरेशनका क्रममा आतंकवादीहरुले हमला गर्दा भारतीय सेनामा कार्यरत गोरखाका अर्जुन थापा मगरसहित दुई सैनिकको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

अर्जुन भारतीय गोर्खा सैनिकको जवान (राइफल म्यान) हुन् । उक्त भिडन्तमा ज्यान गुमाउने अर्का सैनिक भारतको महाराष्ट्र राज्यअन्तर्गत सतराका २९ वर्षीय सावन्थ रघुनाथ छन् । गोरखा नगरपालिका–५ ठूले रिपका २५ वर्षीय अर्जुन पाँच वर्ष अघि भारतीय सेनामा भर्ती भएका थिए । 

सर्च अपरेशनका क्रममा बुधबार पाकिस्तानी क्षेत्रबाट गोली चलेपछि दोहोरो भिडन्त भएको थियो । दोहोरो भिडन्तका क्रममा गोली लागेर घाइते भएका मगरको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको जनाइएको छ । अर्जुनका परिवारलाई शव लिनका लागि भारतीय सेनाले बोलाएको छ ।