काठमाडौं - वेस्ट इन्डिजसँग अष्ट्रेलियाले अप्रत्याशित हार व्यहोरेको छ । शनिबार बिहान ड्यारेन स्यामी नेशनल क्रिकेट स्टेडियममा भएको खेलमा १ सय ४६ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलिया १६ ओभरमा अल आउट हुँदै १ सय २७ रनमा समेटिन पुगेको हो । 

उत्कृष्ट प्रदर्शनको सुरुवात गरेको अष्ट्रेलियाका लागि मिचेल मार्शले अर्धशतकिय इंनिङ्गको योगदान गरे । उनले ३१ बलमा ५ चौका र २ छक्का सहित ५१ रन बनाए । मार्शले २९ बलमा टि२० आई करिअरको पहिलो अर्धशतक पूरा गरेका हुन् । यस्तै, ओपनर म्याथ्यु वेडले ३० रन, मोइजेस हेनरिक्सले १६ रन र डेन क्रिष्टियनले १० रन जोड्नु बाहेक मध्यक्रम र तल्लोक्रमका ब्याट्सम्यान चल्न सकेनन् । अष्ट्रेलियाले बाँकी २२ रन जोड्न ६ विकेट गुमाएको थियो । 

बलिङतर्फ अष्ट्रेलियालाई सस्तैमा समेट्न वेस्ट इन्डिजका आबेद म्याककोयले ४ विकेट लिए भने हेडन वाल्श जुनियरले ३ तथा फबिएन एलेनले २ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ थालेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ४५ रन बनाएको थियो । वेस्ट इन्डिजका आन्द्रे रसेलले सर्वाधिक ५१ रनको योगदान दिए  । रसेलले आफ्नो टि२० आई करिअरको पहिलो अर्धशतक पूरा गरेका थिए । यस्तै, लेन्डन सिमन्सले २७ रन, शिम्रन हेटमायरले २० रन र विकेटकिपर तथा उपकप्तान निकोलस पुरनले १७ रन जोडेका थिए । बलिङतर्फ अष्ट्रेलियाका जोश हेजलवुडले ३ विेकेट तथा मिचेल मार्शले २ विकेट लिए । 

यो सँगै वेस्ट इन्डिजले पाँच टि२० आई खेलको सिरिजमा १–० को अग्रता लिएको छ । दोस्रो टि२० आई खेल आइतबार हुने छ ।