काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू मृत्युदण्डको पक्षमा नभएको बताएका छन्। मानव अधिकार रक्षक तथा सामाजिक अभियन्ताहरूको तेस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले नेपालीहरू कहिल्यै पनि मृत्युदण्डको पक्षमा जान नहुने पक्षमा आफू दृढ रहेको बताएका हुन्।

मृत्युदण्ड दिएपछि त्यसलाई सच्याउने ठाउँ नभएको भन्दै ओलीले भने, ‘मृत्यदण्ड दिएपछि त्यसलाई सच्याउने ठाउँ हुँदैन। त्यसकारण हामी स्थायी रुपमा, हामी नेपालीहरु, बुद्ध जन्मेका देशका बासिन्दाहरु, यहाँका नागरिकहरु कहिल्यै पनि मृत्यदण्डको पक्षमा कुनै आवेश, उत्तेजनामा पनि जानु हुँदैन भन्ने मेरो एकदम दृढ मत हो।’ उनले भने।

बुद्ध जन्मेको देशका बासिन्दाहरू कुनै पनि आवेश वा उत्तेजनामा पनि मृत्युदण्डको पक्षमा जान नहुने ओलीको भनाई छ। 

अध्यक्ष ओलीले अहिलेको राजनीति भनेको गुटबन्दी र जालझेल भएको टिप्पणी गरेका छन्। ओलीले डेमोक्रेसी भनिए पनि साँचो अर्थमा डेमोक्रेसी नै नरहेको बताए। कसैले पनि एमालेसँग प्रतिस्पर्धा गर्ने आँट नगरेको बताए।