काठमाडौं - सरकारले सिफ्टमा सञ्चालन गरेका सरकारी कार्यालय  पूर्ववत् रुपमा सञ्चालन हुने भएका छन् । सरकारका प्रवक्ता डा युवराज खतिवडाका  अनुसार सरकारी कार्यालयहरु अब बिहान १० देखि साँझ ५ बजेसम्म सञ्चालन हुने छन् । यसअघि सरकारले बिहान ८ देखि १ र १ देखि ५ बजेसम्म दुई सिफ्टमा कार्यालय सञ्चालन गर्ने निर्णय गरेको थियो ।

 कोभिड १९ को संक्रमण  रोक्न चैत ११ देखि लागू गरेको बन्दाबन्दीलाई झण्डै चार महिनापछि आज रातिदेखि लागू हुने गरी विधिवत् रुपमा अन्त्य गरेसँगै सरकारले अधिकांश सेवा सञ्चालन गर्ने निर्णय गरेको हो ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान र लामो दूरीको यातायात सेवासमेत भदौ १ देखि सञ्चालन गर्ने निर्णय गरेको छ । सरकारले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तोकेको मापदण्डबमोजिम हुने गरी आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यावसायिक तथा अन्य उडान भदौ १ देखि सञ्चालन गर्ने निर्णय गरेको छ । 

यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तोकेको मापदण्डअनुसार हुने गरी छोटो, मध्यम तथा लामो दूरीमा जिल्लाभित्र र अन्तर जिल्लामा सञ्चालन हुने गरी निजी तथा सार्वजनिक यात्रुवाहक सवारीसमेत भदौ १ गतेबाट सञ्चालन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले जानकारी दिए । सरकारले हाल कायम रहेकाे जिल्लाभित्रै सञ्चालित सवारी साधनमा लगाउँदै आएको जोरबिजोर प्रणालीसमेत हटाएको डा खतिवडाले जानकारी दिए ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रखुम भीमप्रसाद ढकालले भने मन्त्रिपरिषद्को निर्णय आफूहरुसम्म आइपुगिनसकेकाले पूर्ववत निर्णय कायम रहेको बताए । उनले निर्णय आइपुगेपछि सार्वजनिक जानकारी गराइने बताए । 

 सरकारले सैलुन, ब्युटीपार्लर, स्विमिङपुल, जिमखाना, धार्मिक तथा सामाजिकस्थल, समूहमा खेलिने खेल, पुस्तकालय सङ्ग्रहालय  चिडियाखाना भने अर्काे सूचना जारी नभएसम्मका लागि सञ्चालन गर्न नपाइने जनाएकाे छ । 

सेवा सञ्चालन भएका क्षेत्रमा भने कम्तीमा दुई मिटरको भौतिक दूरी कायम गर्नुपर्नेछ । मास्क प्रयोग गर्नुपर्ने, पटकपटक साबुन पानीले हात धुनुपर्ने, सानिटाइजरको प्रयोग गर्नुपर्नेछ । 

यसैगरी सरकारले अन्तर्राष्ट्रिय सिमानाबाट नेपाल प्रवेशमा लगाएको रोक कायमै राखेको छ । यसरी प्रवेश गर्ने सबै विन्दु र खुला सिमानाको जुनसुकै स्थानबाट हुनसक्ने यात्रुको आवागमन स्थगित गर्ने यसअघिको निर्णयलाई आगामी साउन ३२ सम्म कायमै राखिएको डा खतिवडाले बताए ।