काठमाडौं - बलिउड अभिनेता आमिर खानले आफ्ना कोही सहयोगीलाई कोरोना पोजिटिभ देखिएको जनाएका छन् । उनले कोरोना पोजिटिभ देखिएका सहयोगीलाई तुरुन्तै क्वारेन्टिनको व्यवस्था गरिएको बताए ।

साथै उनले घरमा रहेका बाँकी सदस्यको पनि परीक्षण गरिएको र सबैको रिपोर्ट नेगेटिभ आएको जनाए । अभिनेता आमिरले बिएमसीले संक्रमितलाई मेडिकल सेवा उपलब्ध गराएको र उनीहरुको राम्रो रेखदेख गरेको समेत उल्लेख गरे ।

उनले आफ्नी आमाबाहेक अन्य सबैको कोरोना परीक्षण गरिएको जनाउँदै सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘हामी सबैको कोरोना परीक्षण भयो र रिपोर्ट नेगेटिभ आएको छ । अब म आमाको कोरोना परीक्षण गराउँछु, उहाँको मात्रै परीक्षण बाँकी छ ।’ उनले आमाको नेगेटिभ रिपोर्टका लागि प्रार्थना गरिदिन समेत सबैमा आग्रह गरेका छन् ।