एजेन्सी - सिरि ए क्लब लाजियोका फरवार्ड सिरो इम्मोबिलले युरोपियन गोल्डेन बुट जितेका छन् । गएराति भएको खेलमा एक गोल गरेसँगै इम्मोबिलले सिरि ए फुटबल लिगको गोल्डेन बुटसँगै युरोपियन गोल्डेन बुट जितेका हुन् ।

इम्मोबिलले यस सिजनमा ३६ गोल गर्दै गोन्जालो हिग्युनले राखेको कीर्तिमान समेत बराबरी गरेका छन् ।

युभेन्ट्सका क्रिस्टियानो रोनाल्डो अन्तिम खेलमा नखेल्ने भएपछि इम्मोबिलले गोल्डेन बुट जित्ने लगभग पक्का बनेको थियो । रोनाल्डोले यस सिजन ३१ गोल गरेका थिए भने ईन्टर मिलानका फरवार्ड रोमेलु लुकाकुले २३ गोल गरेका थिए ।

युरोपियन गोल्डेन बुट युरोपका शीर्ष डिभिजनको लिगमा गरेको गोलको आधारमा प्रदान गर्ने गरिन्छ ।

इम्मोबिलले बायर्न म्युनिखका रोबर्ट लेवान्डोस्कीलाई दुई गोलले पछि पार्दै सो अवार्ड प्राप्त गरे । रोनाल्डो तेस्रो स्थानमा रहे ।