काठमाडौं - पाकिस्तानका प्रधानमन्त्री इमरान खान सोमबार (आज)  चीन भ्रमणमा जाँदैछन् ।

पाकिस्तानी प्रधानमन्त्री खानले चीनका राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री ली खछ्याङसित भेटवार्ता गर्नेछन् ।इमरान खानले अर्बौं डलरको ‘चाइना–पाकिस्तान इकोनोमिक करिडोर’ परियोजनाबारे पनि कुरा गर्ने जनाइएको छ ।

भारत प्रशासित कश्मिरमा ‘अनुच्छेद ३७०’ निष्प्रभावी भएपछि इमरान खानको यो पहिलो चीन भ्रमण हो । भारतको यो कदमको पाकिस्तानका साथसाथै चीनले पनि विरोध गरेको थियो ।

यसअघि, पाकिस्तानका विदेशमन्त्री शाह महमूद कुरैशी चीन भ्रमणमा गएका थिए । चिनियाँ राष्ट्रपति सी आउँदो शुक्रबार भारत भ्रमणमा जाने कार्यक्रम छ । राष्ट्रपति सीले भारत भ्रमणकाक्रममा प्रधानमन्त्री नरेन्द्र मोदीसित भेटवार्ता गर्ने जनाइएको छ ।

त्यसपछि चिनियाँ राष्ट्रपति सी भारत हुँदै नेपाल भ्रमणमा आउने बताइएको छ । सीको नेपाल भ्रमणको तयारीस्वरुप काठमाडौंका विभिन्न स्थानमा सडक सिँगारिएको छ ।