काठमाडौं - प्रतिनिधि सभाको सभामुखमा नेकपा सांसद अग्निप्रसाद सापकोटा निर्विरोध निर्वाचित भएका छन् ।

प्रतिनिधि सभामा सभामुखका लागि एकमात्र प्रस्ताव परेकाले सापकोटा निर्विरोध निर्वाचित भएको घोषणा सभाको अध्यक्षता गरेका जेष्ठ सदस्य महन्थ ठाकुरले गरेका हुन् ।त्यसअघि सापकोटालाई सभामुखमा प्रस्ताव गर्दै पूर्वसभामुख सुवासचन्द्र नेवाङले उनी सभामुखका लागि योग्य रहेको बताए ।

नेम्वाङको प्रस्तावलाई पूर्वसभामुख ओनसरी घर्ती मगर, नेकपा प्रमुख सचेतक देवप्रसाद गुरुङ र राजपाका लक्ष्मणलाल कर्णले समर्थन गरे ।सचिवालयमा कार्यरत एक महिला कर्मचारीलाई यौन दुर्व्यवहार गरेको आरोपमा तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि असोज १४ गतेयता प्रतिनिधि सभा सभामुखविहीन थियो ।

एकै पार्टीबाट सभामुख र उपसभामुख हुन संवैधानिक अड्चन देखिएपछि उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले पनि गत साता राजीनामा दिएकी थिइन् । सभामुख र उपसभामुख दुवैको राजीनामापछि जेष्ठ सदस्य महन्थ ठाकुरले बैठकको अध्यक्षता गरेका हुन् ।

सभामुख निर्वाचन सम्पन्न भएसँगै अब केही दिनमा उपसभामुख चयनको प्रक्रिया शुरू हुने संसद् सचिवालय स्रोतले जनाएको छ । प्रतिनिधि सभाको अर्को बैठक माघ १४ गते मंगलवार बस्नेछ ।