काठमाडौं - सरकारले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणका कारण देश नै ‘लकडाउन’ भएको समयमा विद्युतीय चुल्हो (इन्डक्सन) बाट खाना पकाउनेलाई विद्युत् महसुलमा २० प्रतिशत छुट दिने भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले खाना पकाउने एलपी ग्यासको सम्भावित अभावलाई मध्यनजर गर्दै इन्डक्सनबाट खाना पकाउने ग्राहकलाई एक सय ५० युनिटसम्म विद्युत् महसुलमा छुट दिने व्यवस्था मिलाउन नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको हो ।

ऊर्जामन्त्री वर्षमान पुनले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई टेलिफोनमार्फत इन्डक्सन चुल्हो प्रयोग गर्दा लाग्ने शुल्कमा छुट दिन निर्देशन दिएका हुन् ।

मन्त्री पुनले इन्डक्सनमा छुट दिँदा ग्यासको विस्थापनमा सहयोग पुग्ने बताए । ‘ग्यास बाहिरबाट आयात गर्नुपर्छ, विद्युत् हाम्रो आफ्नै उत्पादन हो’, मन्त्री पुनले भने । विद्युतको आन्तरिक खपत बढाउन पनि मन्त्रालयले यस्तो निर्णय गरेको उनको भनाइ छ ।

‘महसुल छुट नदिँदा पनि ग्यासभन्दा इन्डक्सन सस्तो पर्छ’, उनले भने, ‘छुटपछि त झन् सस्तो पर्न आउँछ ।’