काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे विरुद्ध कार्यकर्ताहरूले नाराबाजी गरेका छन् ।

शनिबार पूर्वी चितवनको राप्ती नगरपालिकामा आयोजना गरिएको अगुवा कार्यकर्ता भेलामा पाण्डेले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आक्षेप लगाउने काम मात्र गरेको भन्दै कार्यकर्ताले नाराबाजी गरेका हुन् ।

उनीहरुले पार्टीको कार्यक्रममा गुटबन्दी गर्दै हिँडे पाण्डेलाई कुनै पनि कार्यक्रममा बोल्न नदिने चेतावनी पनि दिएका थिए । कार्यक्रममा पाण्डेले मदन भण्डारी फाउण्डेसनमार्फत गुटबन्दी भएको बताएका थिए ।

यसै सन्दर्भमा वरिष्ठ नेता माधवकुमार नेपालले नेता पाण्डेमाथि भएको नाराबाजीको भत्र्सना गरेका छन् । उनले सुनियोजित रुपमा अभद्र व्यवहार तथा नाराबाजी भएको भन्दै यसको छानविन गरी कारबाही गर्न स्थानीय पार्टी एवं सम्वद्ध पक्षको ध्यानाकर्षण पनि गराएका छन् । लोकतान्त्रिक कम्युनिस्ट पार्टीका लागि यो पटक्कै नसुहाउने कार्य भएको उनको भनाई छ ।