एजेन्सी - फेब्रुअरी १४ अर्थात् हिजो शुक्रबारबाट रिलिज भएको कार्तिक आर्यन र सारा अलि खान स्टारर चलचित्र 'लव आजकल २' अनलाइनमा लिक भएको छ। 

पायरेसी वेबसाइट तमिल रकर्सले चलचित्र रिलिज भएको केहि घण्टामा नै अनलाईन लीक गरेका हुन्। अनलाईन लिक भएपछि यसको असर सिधै चलचित्रमा देखिने अनुमान गरिएको छ। कुनै एक चलचित्र निर्माण गर्नका लागि कम्तिमा पनि ४/५ महिना लाग्छ तर रिलिज भएको केहि समयमै लिक भएपछि यसले ठुलै नोक्सान पुर्याउछ। 

तमिल रकर्सले चलचित्र लिक गरेको यो पहिलोपटक भने होइन। यसभन्दा पहिले पनि दबंग ३, दरबार, छपाक, जोकर, तानाजी: द अनसंग वॉरियर, कबीर सिंह, हाउसफुल ४ जस्ता चलचित्र तमिल रकर्सले लिक गरेका छन। तमिल रकर्स यतिबेला चलचित्र निर्माताहरुका लागि एक ठुलो समस्याको रुपमा खडा भएको छ। 

यद्धपी चलचित्र 'लव आजकल'को कुरा गर्ने हो भने यसले दर्शक तथा समिक्षकको तर्फबाट राम्रो प्रतिक्रिया पाईरहेको छ। यो चलचित्र सन् २००९ मा रिलिज भएको चर्चित चलचित्र लव आजकलको सिक्वेल हो। इम्तियाज अलिको निर्देशनमा तयार भएको चलचित्रमा सारा र कर्तिकका अलावा रणदीप हुड्डा र आयुषि शर्मा मुख्य भूमिकामा देखिएका छन।