एजेन्सी - चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमणबाट दक्षिण कोरियामा मृत्यु हुनेको संख्या ११ पुगेको छ । दक्षिण कोरियाको रोग नियन्त्रण र उपचार केन्द्रले कोरोनाबाट ११ जनाको मृत्यु हुनेको पुष्टि भएको बताइएको छ । 

दक्षिण कोरियामा करिब एक हजारजना कोरोनाबाट संक्रमित भएको सीएनएनले जनाएको छ । जसमा सोमबारमात्र ६१ जनामा संक्रणमण भएको थियो भने मंगलबारमा ११४ जना कोरोना संक्रमित थपिएको अधिकारीहरुले जनाएका छन् । 

दक्षिण कोरियाका तीनवटा क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ । जस अन्तर्गत डेयगुमा ५४३ जना संक्रमित भएका छन् भने उत्तरी गेइओंङसाङमा २४३ र बुसामा ४३ जना संक्रमित भएका छन् । 

डेयगुका सम्पूर्ण उडानहरु स्थगित गरिएका छन् । जहाँ दक्षिण कोरियामा सबभन्दा पहिले कोरोना संक्रमित भेटिएका थिए । धेरै मुलुकहरुले दक्षिण कोरियाबाट आउने यात्रुलाई प्रवेशमा प्रतिबन्ध लगाइएको छ । 

डेयगुको प्रकोपको केन्द्रमा त्यहाँको सिनचेनओन्जी धार्मिक समूह रहेको छ । तर, हाल उक्त समूहभन्दा बाहिरका मानिसहरुलाई कोरोनाको संक्रमण भएको पाइएको छ ।

उक्त समूहका सयौं मानिसमा कोरोना संक्रमण भएको पाइएको हो । करिब नौ हजारभन्दा बढी मानिसलाई अलगै राखिएको छ र उनीहरुको परीक्षण भइरहेको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।  कोरोनाबाट विश्वभर २६ सयभन्दा बढीको मृत्यु भइसकेको छ भने ८० हजारभन्दा बढी संक्रमित भएका छन् ।