काठमाडौं - विभिन्न पाँच विधामा यस वर्षको नोबेल शान्ति पुरस्कार  विजेताको नाम घोषणा गरिएको छ । भौतिकशास्त्रतर्फको सन् २०१९ को नोबेल पुरस्कार दुई स्वीस वैज्ञानिक र एक क्यानेडेली–अमेरिकी वैज्ञानिकलाई संयुक्त रुपमा दिइने भएको छ ।

ब्रह्माण्डका विषयमा महत्वपूर्ण तथ्य पत्ता लगाउने क्यानेडेली–अमेरिकी वैज्ञानिक जेम्स पिबल्ससंगै स्वीट्जरल्याण्डका माइकल मेयर र डिडे क्वेलो यस वर्षका भौतिक विज्ञानतर्फको नोबेल पुरस्कार विजेता भएको घोषणा गतसाता स्टकहोममा आयोजित समारोहमा घोषणा गरिएको थियो । 

समाचार एजेन्सी एपीकाअनुसार दुवै स्वीस वैज्ञानिकले खगोल विज्ञानमा अद्भूत योगदान गरेका थिए । उनीहरुले वर्तमान सौर्यमण्डल बाहिर पनि अर्को ग्रह रहेको पहिलोपटक पत्ता लगाएका थिए । यो ग्रहको नाम ५१ पेगासी–बी राखिएको छ । त्यसैगरी २०१९ को चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार दुईजना अमेरिकी र एकजना बेलायती वैज्ञानिकलाई संयुक्त रुपमा प्रदान गरिएको छ । 

उनीहरुलाई मानव शरीरका कोषहरुले कसरी महशूस गर्छन र अक्सिजनको उपलब्धता कसरी स्वीकार गर्छन भन्ने खोज एवं अनुसन्धान गरेवापत उक्त पुरस्कार दिइएको हो ।

रक्त अल्पता, क्यान्सर र अरु प्राणघातक रोगहरुसंग लड्न नयाँ खोजले सघाउने नोबेल समितिले जनाएको छ । 

यो पुरस्कार प्राप्त गर्नेहरुमा हार्वर्ड विश्वविद्यालयका डा। विलियम जी काइलिन जुनियर, जोन्स हप्किन्स विश्वविद्यालयका ग्रेग एल सेमेन्जा र बेलायतस्थित अक्सफोर्ड विश्वविद्यालयका पिटर जे राचक्लिफ रहेका छन् । सन् १९०१ यता यो पुरस्कार १ सय १० औं पटक प्रदान गर्न लागिएको हो । 

यसैगरी रोयल स्वीडिस एकेडेमी अफ साइन्सेसले यस वर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार पनि तीनजना वैज्ञानिकलाई संयुक्त रुपमा प्रदान गर्ने भएको छ ।

अमेरिकाको टेक्सास विश्वविद्यालयका जोन बी गुडइनफ, विङघामटन विश्वविद्यालयका एम स्टान्लेङघम र जापानको नायोगास्थित मेइजो विश्वविद्यालय र टोकियोस्थित असाही कासेई कर्पोरेसनमा कार्यरत योसिनोलाई यो पुरस्कार दिइने भएको छ । उनीहरुलाई ‘लिथियम आयन’ ब्याट्रीको विकास गरेवापत नोबेल पुरस्कारले सम्मान गर्न लागिएको हो । 

साहित्यतर्फको नोबेल पुरस्कार आफ्नो पुस्ताको नेतृत्वदायी उपन्यासकार भनेर चिनिने पोलिस लेखक ओल्गा तोकाचुकलाई सन् २०१८ को नोबेल पुरस्कार दिने घोषणा गरिएको छ ।

अष्ट्रियन नाट्यकार पिटर हान्क यो वर्षको साहित्य तर्फको नोबेल पुरस्कार पाउन सफल भएका छन् । पुरस्कार प्रदान गर्ने स्वीडिस एकेडेमीमा भएको एउटा आर्थिक र यौन उत्पीडनसम्बन्धी विवादका कारण साहित्यतर्फको नोबेल पुरस्कार यसवर्षका लागि स्थगित भएको थियो । 

सन् २०१९ को नोबेल शान्ति पुरस्कार इथियोपियाली प्रधानमन्त्री आबिद अहमद अलीलाई प्रदान गर्ने घोषणा यसअघि नै भइसकेको छ ।

यो पुरस्कारका लागि ७८ वटा संघसंस्था र २२३ व्यक्तिसहित तीनसय जनाको एकल मनोनयन परेको थियो । आउँदो डिसेम्बरमा नर्वेको राजधानी ओस्लोमा एक भव्य समारोहबीच विजेतालाई ९ लाख अमेरिकी डलरसहितको यो पुरस्कार प्रदान गरिनेछ ।