काठमाडौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच आज एक्लाएक्लै वार्ता भएको छ । प्रधानमन्त्रीको ओलीको राजीनामा मागपछि पार्टीभित्र देखिएको विवादमा सहमति खोज्नका लागि दुई नेताले आज एक्ला–एक्लै वार्ता गरेका हुन् ।

प्रधानमन्त्री ओलीको अडानका कारण सहमति जुटन नसकिरहेको समयमा दुई नेताले आज डेढ घन्टा कुराकानी गरेको प्रधानमन्त्रीको नीजि सचिवालयले जानकारी दिएको छ । आजका लागि पूर्वनिर्धारित स्थायी समिति बैठक बुधबारसम्म स्थगित गरेर दुबै नेता छलफलमा जुटेका हुन् ।

उनीहरुबीच ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिने विषयमा छलफल केन्द्रीत गरेको बुझिएको छ । तर प्रधानमन्त्री ओली भने पूर्व अडानवाट पछि हटेका छैनन् । छलफलमा ठोस सहमति नभएपछि छलफललाई निरन्तरता दिन दुबै पक्ष सकारात्मक देखिएका छन् ।

एकपक्ष राजीनामा माग्ने र अर्को पक्ष राजीनामा नदिने अडानमा रहेपछि पार्टीका दोस्रो तहका नेताहरु पनि सहमति जुटाउने प्रयासमा लागिरहेका छन् । महासचिव विष्णु पौडेल, शंकर पोखरेल, जनार्दन शर्मा र वर्षमान पुन पनि सहमति खोज्न आन्तरिक छलफलमा छन् ।

प्रधानमन्त्रीको राजिनामाको माग लगत्तै संसद अधिवेशन अन्त्य, नेकपा एमाले नामको नयाँ पार्टी दर्ता र राष्ट्रपति भण्डारीलाई महाअभियोग लगाउने विषयले विवाद झनै चुलिएको छ ।

प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल तथा वरिष्ठ नेता माधवकुमार नेपाल समूहको शक्ति संघर्षले नेकपा विभाजनको संघारमा पुगेको छ ।