एजेन्सी - अमेरिकाको टेक्सासस्थित एक चर्चमा प्रार्थना भइरहेको समयमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा दुई जनाको मृत्यु भएको छ ।टेक्सासस्थित वेस्ट फ्रीवे चर्च अफ क्रिष्टमा स्थानीय समय अनुसार आइतबार बिहान ११ः५० बजे प्रार्थना भइरहेका बेला अन्धाधुन्ध गोली प्रहार भएको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार, प्रार्थनाका लागि बसिरहेका व्यक्तिले अकस्मात् उठेर गोली चलाएका थिए । दुई जनालाई उनले चलाएको गोली लागेपछि चर्चका अधिकारीहरूले उनैलाई गोली हानेका थिए।

गोली लागेका तीन जनालाई उपचारका लागि अस्पताल लगिएको थियो। तीमध्ये आक्रमणकारी र उनले गोली हानेका एक जनाको बाटैमा मृत्यु भयो भने एक घाइतेको उपचार भइरहेको छ।

प्रार्थनाको समयमा फेसबुक लाइभ भइरहेकाले त्यो लाइभमा समेत देखिएको थियो । आक्रमणको कारण वा उद्देश्य के थियो भन्नेबारे अनुसन्धान भइरहेको जनाइएको छ।