एजेन्सी - चीन भारत सीमा गल्वान उपत्यकामा भएको झडपमा दुई चिनियाँ सैनिक मारिएको खुलेको छ । गत जुन १५ मा भएको झडपमा दुई सैनिक मारिएको चीनले स्विकार गरेको छ ।

झडपमा २० भारतीय सैनिकको मृत्यु भएको थियो । चिनियाँ सैनिकले झडपपछि भारतीय सैनिकलाई सेनाको अवस्थाबारे जानकारी दिए पनि हालै मात्र उक्त खबर सार्वजनिक भएको टाइम्स अफ इण्डियाले जनाएको छ । यद्यपी, चिनियाँ विदेश मन्त्रालयले भने घटनामा आफ्नो सेना मारिएको स्विकार गरेको छैन ।

जुन १५ मा भारतीय सेनाले आफुले दाबी गरेको भूमिमा चिनियाँ पक्षले निर्माण गरेको भौतिक संरचना भत्काएपछि हिंस्रक झडप भएको थियो। घटनालगत्तै भारतले २० जनाको मृत्यु भएको जनाएको थियो भने चीनले सेनाको अवस्थाबारे कुनै जानकारी दिएको थिएन ।