काठमाडौं - चिनियाँ राष्ट्रपति सी चिनफिङले चीन–नेपाल सम्बन्धलाई अघि बढाउन नेपालसँग काम गर्न तयार रहेको बताएका छन् ।

नेपाल–चीनको औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ औं वर्ष पुगेको उपलक्ष्यमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई बधाई सन्देश पठाउँदै राष्ट्रपति सीले दुई मुलुकका जनतालाई बढी फाइदा पुर्‍याउने र यस क्षेत्रको स्थिरता र विकासमा सकारात्मक योगदान गर्ने बताएका हुन् ।

सीले सन्देशमा दुई मुलुकले कूटनीतिक सम्बन्ध स्थापना भएदेखि एकअर्कालाई सम्मान र समान व्यवहार गरेको, राजनीतिक रूपमा आपसी विश्वास र गहन रूपमा पारस्परिक सहयोग गरिरहेको बताएका छन् ।

राष्ट्रपति भण्डारीले सीलाई पठाएको बधाई सन्देशमा दुई मुलुकबीचको सम्बन्धलाई आगामी दिनमा थप मजबुत बनाउन जोड दिएको परराष्ट्र मन्त्रालयले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

भण्डारीले गत वर्षको अप्रिलमा आफ्नो चीन भ्रमणका दौरान महत्त्वपूर्ण सम्झौता र समझदारी भएको बारेमा पनि स्मरण गराएकी छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले पनि चीनका राष्ट्रपति सी र प्रधानमन्त्री ली खछ्याङलाई बधाई सन्देश पठाएका छन् । 

कान्तिपुर दैनिकबाट