काठमाडौं, एजेन्सी - ट्यामी इब्राहिमले खेलको अन्त्यतिर गरेको गोलमा चेल्सीले इंग्लिस प्रिमियर लिगमा शनिबार वेस्ट ब्रुमलाई ३–३ को बराबरीमा रोकेको छ । फ्रायन्क लाम्पार्डको खर्चालु टिम वेस्ट ब्रुमको घरेलु मैदानमा ३–० ले पछाडि परेको थियो ।

त्यसमा घरेलु टिमका लागि कलुम रोबिनसनले दुई र केली बार्टलीले एक गोल गरे । त्यसयता चेल्सीका तर्फबाट मेसन माउन्ट र कलुम हडसन ओडाईले गोल गरे । लिभरपुलसँग पराजित भएयता दबाबमा रहेको चेल्सीलाई यो बराबरीले ठूलो राहत दिनेछ ।

शनिबारकै अर्को खेलमा साउथह्याम्पटनले बर्नलीलाई १–० ले हरायो । यसअघि एभरटनले क्रिस्टल प्यालेसलाई २–१ ले हराएर लिग तालिकाको शीर्ष स्थान उक्लेको थियो । एभरटनको यो लगातार तेस्रो जित हो ।