काठमाडौं - काठमाडौं महानगरमा यसअघिको निर्वाचनमा सानदार विजयी हासिल गरेको एमालेलाई यसपटक विरासत जोगाउन हम्मे हम्मे पर्ने भएको छ । निर्वाचनमा कांग्रेसले गठबन्धन गर्ने निर्णय गरेसँगै एमालेले कांग्रेसकै उम्मेदवारसँग कडा प्रतिस्पर्धा गर्नुपर्ने अवस्था आउने देखिएको छ ।

प्रमुख प्रतिपक्षी एमालेले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटको आन्तरिक गृहकार्य जारी राखेसँगै संघीय राजधानी रहेको मुलुकको सबैभन्दा ठूलो काठमाडौं महानगरमा चुनावी सरगर्मी बढ्न थालेको छ ।

काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार कसलाई बनाउने भन्ने विषयमा एमालेभित्र गम्भीर छलफल जारी छ । यस्तै, ललितपुर महानगरपालिकामा समेत मेयरको टिकट पाउन आकांक्षीहरू शीर्ष नेताको घरदैलोमा पुग्न थालेका छन् । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि चैत मसान्तभित्रमा उम्मेदवार सिफारिस गरिसक्न एमालेले स्थानीय कमिटीलाई निर्देशन दिइसकेको छ ।

संघीय राजधानी काठमाडौं महानगरपालिकाको मेयरमा यसअघि एमालेबाट निर्वाचित भएका विद्यासुन्दर शाक्य पुनः मेयरका लागि आफैँ दौडधुप मा छन् । तर, शाक्यले अपेक्षित रूपमा काम गर्न नसकेको आरोप लाग्दै आएको छ । शाक्यले भने आफूमाथि पूर्वाग्राही रूपमा आरोप लगाइएको र आफूले प्रभावकारी काम गरेको दाबी गरेका छन् । विगतमा राम्रो काम गरेको दाबी गर्दै उनले फेरि पनि आफैँले टिकट पाउनुपर्ने माग गर्दै आइरहेका छन् ।

राजधानी दैनिकबाट