काठमाडौं - गत वर्षभन्दा ढिलो सुरु भएको मनसुन बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाको शनिबार बिहान ६ बजे निकालेको बुलेटिनमा पूर्वी नेपालमा जून २० मा आगमन भएको मनसुन १२ अक्टुबरमा बाहिरिएको उल्लेख छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार औसत समयभन्दा १० दिन ढिलो सुरु भएको मनसुन औसतभन्दा १९ दिन ढिलो बाहिरिएको छ । औसतमा पूर्वी नेपालमा १० जूनमा र काठमाडौंमा १२ जूनमा मनसुनी वायुवर्षा आइपुग्ने गर्दछ।

मौसम पूर्वानुमान महाशाखाको तथ्यांक अनुसार नेपालमा सन् १९७९ को ७३ दिनको मनसुन सबैभन्दा छोटो र सन् २००८ को १३० दिनको मनसुन सबैभन्दा लामो मनसुन रहेको छ।

महाशाखाको बुलेटिनमा भनिएको छ,'मनसुन आगमन सन् १९९६ मे ३१ मा अहिलेसम्मको सबैभन्दा छिटो र १९८२ जून २७ मा अहिलेसम्मको सबैभन्दा ढिला भएको थियो भने मनसुन बहिर्गमन सबैभन्दा छिटो सन् १९९५ सेप्टेम्बर २ र सबैभन्दा ढिला सन् २०१३ अक्टुबर १९ मा रहेको छ।'

बंगलादेश तथा आसपासका क्षेत्रमा न्यून चापिय प्रणाली रहेको छ । मनसुनको न्यून चापिय रेखाको साविक स्थान भन्नाले भारतको उत्तरी राजस्थान, हरयाना, दिल्ली, दक्षिण उत्तर प्रदेश, दक्षिण बिहार, झारखण्ड र पश्चिम बंगाल हुँदै बंगालको खाडीको शिरसम्म जनाउँछ।

शनिबार बिहान देशको पहाडी भु-भागमा आंशिक बदली र तराईका भु-भागमा मौसम सामान्यतया सफा रहेको छ। शनिबार दिउँसो देशको पहाडी भु-भागमा आंशिक बदली रही एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहने छ।

तराईका भु-भागमा मौसम सामान्यतया सफा रहनेछ। आइतबार र सोमबार पनि पहाडी भु-भागमा आंशिक बदली रही बाँकि भु-भागमा मौसम सामान्यया सफा रहनेछ।