काठमाडौं - युक्रेनमाथि रुसको सैनिक हमलाको सिधा असर नेपालीको भान्सामा परेको छ । ती दुई देशबीच द्वन्द्वको कारण देखाउँदै नेपालमा सबैजसो खाद्यवस्तुको मूल्य छोइनसक्नु भएको छ ।

त्यो मात्रै होइन युद्ध सुरु हुनुअघि नै अन्तर्राष्ट्रिय बजारमा बढ्न थालेको डलर र पेट्रोलियम पदार्थको मूल्यलाई रुस र युक्रेनको सैन्य भिडन्तले अरू बढाएको छ । त्यसै आधारमा नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य बढ्दा त्यसको असर समग्र क्षेत्रमा परेको छ ।

व्यापारीहरू भने यी दुईभन्दा बेग्लै अरू कारणले पनि मूल्य बढाउने गरेको दाबी गर्छन् । बैङ्कहरूले बढाएको ब्याजदर र निर्वाचन घोषणा भएपछिका राजनीतिक र अन्य कारणले पनि मूल्य बढाएको दाबी उनीहरूको छ । यस आधारमा नेपाली उपभोक्ता सर्वसाधारण मूल्य वृद्धिको पञ्चाग्निमा सेकिएका छन् ।

रुस–युक्रेन युद्धले पेट्रोलियम पदार्थ मात्र नभई खाने तेलमा समेत प्रत्यक्ष असर पारेको हो । खाने तेल र कच्चा पदार्थ रुस र युक्रेनबाट आउनेमा त्यो बन्द भएको छ तर त्यो मात्र नभई दाल, चामल, चिनी, तरकारी, फलफूललगायत सबैजसो वस्तुको मूल्य दिनदिनै उकालो लागिरहेको छ । स्थानीय तह निर्वाचनका कारण मूल्य वृद्धिको असर अब देखिने व्यापारीको भनाइ छ ।

गाेरखापत्र दैनिकबाट