काठमाडौं – राजधानीको सुरक्षा व्यवस्था कडा बनाइएको छ । चिनियाँ राष्ट्रपतिको आसन्न नेपाल भ्रमणलाई लिएर काठमाडौंको सुरक्षा व्यवस्था कडा पारिएको हो ।

चिनियाँ राष्ट्रपति सी जिनपिङ अक्टोबर १२ मा नेपाल आउने भनिएपनि मिति भने तय भएको छैन् । उनको भ्रमणलाई लक्षित गरी हतियारसहित नेपाली सेनाले सुरक्षा गस्ती थालेको हो ।

काठमाडौंका मुख्य– मुख्य चोक र सड्क,विमानस्थल र होटलको सुरक्षालाई मध्यनजर गरेर सुरक्षा व्यवस्था बाक्लो बनाइएको हो । नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले गस्तीमा सेना परिचान भएको जानकारी दिए ।

सरकारले सीलाई अति विशिष्टभन्दा माथिको सम्मानका साथ जेड–प्लस सुरक्षा व्यवस्था र सम्मान दिने तयारी गरेको छ । २३ वर्षपछि नेपाल भ्रमणमा आउन लागेका चिनियाँ राष्ट्रपतिलाई स्वागत गर्न राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली विमानस्थल जाने कार्यक्रम छ ।

सेनाले महाराजगंज, लाजिम्पाट, कालिमाटी, बानेश्वर विमानस्थल, बौद्ध, स्वयम्भु, जावलाखेल, बालुवाटार र हात्तिसार र फर्फिङबाट उपत्यका छिर्ने नाका र थानकोट लगायतका क्षेत्रमा गस्ती गरिरहेको छ । उपत्यकामा मात्र करिब पाँच हजार सैनिक सुरक्षा गस्तीमा खटिएका छन् ।