काठमाडौं - आज राष्ट्रिय बाल दिवस । देशभर विभिन्न चेतनामुलक कार्यक्रमको आयोजना गरी मनाइदैछ ।

‘सुनिश्चित बाल अधिकारः समृद्ध नेपालको आधार’ भन्ने मूल नाराका साथ मनाउन लागिएको दिवसमा बालबालिकाको अधिकार रक्षाका लागि काम गर्ने विभिन्न संघ संस्था तथा विद्यालयहरुले बेग्ला बेग्लै कार्यक्रमको आयोजना गरेका छन् । यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले बालबालिकाका विरुद्धमा हुने हिंसा, शोषण एवं दुव्र्यवहार कुनै पनि हालतमा सह्य नहुने बताएका छन् ।

राष्ट्रिय बाल दिवसका अवसरमा एक शुभकामना सन्देश जारी गर्दै ओलीले भनेका छन्, ‘बालबालिकाले सडकमा जीवन गुजार्नु नपरोस् भन्ने उद्देश्यले सडक बालबालिकाको व्यवस्थापन, बालश्रम निमूर्लन र जोखिमपूर्ण अवस्थामा रहेका बालबालिकाको जीवनमा परिवर्तन गर्न सरकारले विशेष पहल थालेको छ ।’उनले पढ्ने अवसरबाट कुनै पनि बालबालिका बञ्चित हुन नपर्ने पनि प्रतिबद्धता जनाएका छन् ।

‘सरकारले विपन्न परिवारका केही बालबालिकाको शैक्षिक अभिभावकत्वसमेत ग्रहण गरी आगामी दुई वर्षभित्र विद्यालय जाने उमेर समूहका सबै बालबालिकालाई विद्यालय भर्ना गर्ने लक्ष्य निश्चित गरेको छ,’ उनको शुभकामना सन्देशमा भनिएको छ ।

आजैदेखि हाम्रा बालबालिकालाई पोषणयुक्त खाना, उचित व्यायाम, स्वस्थ मनोरञ्जन, आवश्यक आरामको अवसर, जीवनपयोगी शिक्षा र सामाजिक सुसंस्कार प्रदान गर्नु हामी सबैको दायित्व हो’, प्रधानमन्त्री ओलीले आफ्नो शुभकामना सन्देशमा भनेका छन् ।

उनले देशभित्र रहेका अभिभावकविहीन बालबालिकाको जिम्मेवारी राज्यले लिने बताएका छन् ।हरेक वर्ष भदौ २९ लाई राष्ट्रिय बाल दिवसका रूपमा मनाइँदै आइएको छ ।