काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालमा भर्ना भएपछि १३औं दक्षिण एसियाली खेलकुदमा सहभागी हुने खेलाडीलाई अर्थमन्त्री डा. युवराज खतिवडाले सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्रीले मंगलबार बिहान ११ बजे  दक्षिण एसियाली खेलकुदमा सहभागी हुने खेलाडीहरुलाई सम्बोधन गर्ने र त्यसपछि रंगशालाको निरीक्षण गर्ने कार्यक्रम थियो ।

तर ‘एपेन्डसिाइटिस’ भएपछि प्रधानमन्त्री ओलीलाई महाराजगञ्जस्थित शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोभास्कुलर सेन्टरमा भर्ना गरिएको छ । ओलीको सट्टा अर्थमन्त्री खतिवडाले खेलाडीलाई सम्बोधन गर्ने भएका छन् ।

कार्यक्रममा खेलाडीका लागि पुरस्कारमा पनि विशेष प्याकेजको घोषणा गर्ने कार्यक्रम तय गरिएको छ। प्रधानमन्त्रीको सम्बोधनका लागि पोखरा तथा जनकपुर लगायतका ठाँउमा अभ्यासरत खेलाडी समेत काठमाडौं आइसकेका छन् । पोखरामा प्रशिक्षणमा रहेको महिला फुटबल र बीच भलिबल टोली पनि सोमबार साँझ नै काठमाण्डौ आइपुगेका छ।