चाडपर्वलाई ध्यानमा राखि शान्ति सुरक्षा सुदृढ बनाउँछु : गृहमन्त्री थापा
काठमाडौं - गृहमन्त्री रामबहादुर थापाले दशैं, तिहार र छठजस्ता चाडपर्वमा विगतका वर्षहरुमा भन्दा शान्ति, सुरक्षाको अवस्था सुदृढ बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
गृहमन्त्री थापाले जनताको सबैभन्दा बढि आवातजावत हुने समय भएकाले दशैं, तिहार जस्ता चाडपर्वलाई ध्यानमा राखेर सरकारले असोज र कार्तिक २ महिनाका लागि विशेष सुरक्षा योजनानै तय गरिएको जानकारी दिएका छन् ।
सोमबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले सर्वसाधारणको यात्रा सुरक्षित बनाउन तथा शान्ति सुरक्षा कायम गर्न सरकारले आवश्यक तयारी गरिरहेको पनि बताए । उनले चाडपर्वमा हुने महिला हिंसा नियन्त्रण गर्न सादा पोशाकमा प्रहरी परिचालन गरिएको पनि बताए ।
गृहमन्त्री थापाले सुरक्षित यात्राका लागि राजमार्गहरुमै सहायता कक्षको स्थापना, बस टिकटमा कालोबजारी र कृतिम अभाव हुन नदिन तथा सडक दुर्घटना भइहालेमा तत्काल मेडिकल टिमको परिचालन गर्ने योजना तय गरिएको पनि समितिलाई जानकारी दिए । त्यसैगरी सरकारले भारतबाट दशैं मान्न घर फर्किएका नागरिकहरुको सहयताका लागि सीमा क्षेत्रमा पनि नागरिक सहायता कक्ष स्थापना गर्न लागिएको जानकारी गराए ।
बैठकमा गृहसचिव प्रेमकुमार राईले २ हजार, १ हजार र ५ सय दरका भारतीय नोट नचल्ने भएकाले त्यसलाई नलिन पनि सबै नागरिकलाई सचेत गराएका छन् । नेपालमा प्रतिबन्ध लगाइएकाले ती भारतीय नोट प्रयोगमा नआउने हुनाले त्यस्ता नोट नलिन नागरिकलाई सचेत रहन पनि सचिव राईको आग्रह छ ।
फेसबुक पेज Like गर्नुहोस