काठमाडौं - प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरामाथि भर्खरै सार्वजनिक भएको बलात्कारको आरोपप्रति साझा पार्टीले गम्भीर ध्यानाकर्षण भएको भन्दै सभामुख पदबाट राजीनामा मागेको छ ।  उक्त पार्टीका प्रवक्ता डा। सूर्यराज आचार्यले मंगलबार एक विज्ञप्ति जारी गर्दे सभामुख महराको राजीनामा मागेका हुन् ।

‘हालसम्म प्राप्त सूचना र आरोपको गम्भिरतालाई हेर्दा सभामूख महरालाई तुरून्त राजीनामा दिन साझा पार्टी जोडदार माग गर्दछ। उनको राजीनामाले उनीमाथि लागेको आरोपको निष्पक्ष छानविन गर्न र घटनाको सत्यतथ्य उजागर गर्न सहयोग पुर्‍याउने छ,’ विज्ञप्तिमा भनिएको छ ।

देशभरी बढ्दै गरेको महिल हिंसा र बलात्कारका घटनाहरूमा सरकार अझ कडाईका साथ पेश हुनु पर्नेमा सभामुखजस्तो गरिमामय पदमा आसीन व्यक्तिमाथि नै यस्तो आरोप लाग्नुले आम नागरिकमा कस्तो सन्देश जाला रु भन्ने प्रश्न चिन्ह खडा भएको विज्ञप्तिमा जनाइएको छ ।

‘एकातिर, अहिले राज्यव्यवस्थाप्रति नागरिकको अविश्वास, आक्रोस र असंतुष्टि चरम सिमामा पुगेको छ। दुई तिहाइ बहुमतसहितको स्थिर सरकारले मुलुक र नागरिकका आधारभूत समस्याहरु समाधान गर्नेछ भन्ने नागरिकको अपेक्षा घोर निरासा र अविश्वासमा रुपान्तरण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘आम नागरिकले अपेक्षा गरेको मुलुकको विकास र संवृद्धिको चाहानामा तुषारापात भएको छ । सरकारले सुरक्षाको प्रत्याभूती दिनुभन्दा सरकार समर्थित कार्यकर्ताहरु कानून हातमा लिदैं थप सुरक्षा चूनौती थपिरहेका छन् ।’

अत्यन्त मर्यादित पदमा आसिन व्यक्ति यसरी गम्भीर आरोपमा मुछिएर विवादित हुनु भनेको लोकतान्त्रिक व्यवस्था, वर्तमान सरकार र राज्यव्यवस्थाका मर्यादित संस्थाहरु समेत विवादित हुनु हो भन्दै साझा पार्टीले नागरिकको आक्रोश रोक्न समयमै राजीनामा दिएर अनुसन्धानको मार्गप्रशस्त गर्न जोड दिएको छ ।

‘यसले संबन्धित व्यक्तिको निष्ठा, कर्तव्य र आचरणमा दिर्घकालीन प्रभाव त पार्छ नै । सँगसँगै व्यक्तिसँग जोडिएका संबन्धित लोकतान्त्रिक संस्थाहरुको विश्वसनीयता र मर्यादामाथि समेत गम्भीर आशंका र अविश्वास जन्माउँछ । नागरिकको आक्रोसलाई बढाउँछ,’ विज्ञप्तिमा भनिएको छ ।