बैंक अफ काठमाण्डूका पूर्व सीइओ सहित ११ जना पक्राउ
काठमाडौं - कर्जा हिनामिना गरेको आरोपमा प्रहरीले बैंक अफ काठमाडौंका कर्मचारी सहित ११ जनालाई पक्राउ गरेको छ ।
नक्कली जग्गा धितो राखेर ४ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गरी सर्वसाधारणको निक्षेप हिनामिना गर्ने कार्यमा संलग्न बैंकका कर्मचारीसहित ११ जनालाई पक्राउ गरिएको हो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बैंक अफ काठमाडौंमा भएको कर्जा अनियमितता प्रकरणको अनुसन्धान गरिरहेको छ ।
खोलाले बगाइसकेको एउटा जग्गालाई धितो कायम गरी डेढ लाख रुपैयाँ कर्जा प्रवाह गरेको घटनाको अनुसन्धान गर्दा सोही प्रक्रिया अपनाएर अन्य ३ करोड रुपैयाँ कर्जा प्रवाह भएको देखिएको सीआईबीका प्रवक्ता (प्रहरी उपरीक्षक)बेलबहादुर पाण्डेले जानकारी दिए ।
प्रवक्ता पाण्डेका अनुसार कर्जा अनियमितता प्रकरणमा बैंक अफ काठमाडौंका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) अजय श्रेष्ठसहित ४ जना कर्मचारी पक्राउ परेका छन् । यस्तै, अन्य ७ जना ऋणि बनेका व्यक्तिलाई पक्राउ गरिएको पाण्डेले बताए ।
पाण्डेका अनुसार बैंकका पूर्व सीईओ श्रेष्ठ समेतको मिलेमतोमा विभिन्न ठाउँका जग्गालाई धितो देखाएर ४ करोड ५० लाख रुपैयाँ ऋण निकालिएको छ । उक्त कर्जा बैंक अफ काठमाडौंको कमलादी शाखाबाट प्रवाह गरिएको थियो ।
फेसबुक पेज Like गर्नुहोस