राष्ट्र संघलाई आवश्यकता भन्दा बढी महत्व दिइयोः मन्त्री ज्ञवाली
काठमाडौं - परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले द्वन्द्व समाधानका लागि राष्ट्रसंघलाई आवश्यकता भन्दा बढी महत्व दिइएको धारणा राखेका छन् । संयुक्त राष्ट्र संघको ७४औं महासभामा सम्बोधन गर्दै मन्त्री ज्ञवालीले द्वन्द्व समाधान क्षेत्रीय संगष्ठनबाट प्रभावकारी हुने बताए ।
मन्त्री ज्ञवालीले भने, “द्वन्द्व समाधान र रोकथाममा क्षेत्रीय तथा उपक्षेत्रीय सङ्गठनले महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने अनुभवले देखाएको छ ।”
द्वन्द्व समाधानमा क्षेत्रीय तथा उपक्षेत्रीय सङ्गठनहरूबाट रचनात्मक भूमिका निर्वाह हुने मन्त्री ज्ञवालीले धारणा राखे । मन्त्री ज्ञवालीले द्वन्द्व निवारक कूटनीति, मध्यस्थता, पुनःनिर्माण, द्वन्द्वोत्तर विकासका निम्ति क्षेत्रीय तथा उपक्षेत्रीय संगठनहरुकोे क्षमता अभिवृद्धि गर्नुपर्ने बताए ।
परराष्ट्रमन्त्री ज्ञवालीले विश्व शान्ति स्थापना र द्वन्द्व समाधानमा राष्ट्रसंघ र अन्तर्राष्ट्रिय, क्षेत्रीय एवं उपक्षेत्रीय सङ्गठनहरू आवश्यक हुने बताए ।
शान्ति स्थापना कार्यमा संयुक्त राष्ट संघ र अन्तराष्ट्रिय, क्षेत्रीय एवं उपक्षेत्रीय सङ्गठनहरूबीच साझेदारी वृद्धि विषयको मन्त्रीस्तरीय उच्च बैठकमा मन्त्री ज्ञवालीले विभिन्न बहुतहबाट बहुपक्षीयतावादमा भएका आक्रमणका सन्दर्भमा यो बैठक सामयिक भएको बताए ।
समसामयिक विश्वमा द्वन्द्वको व्यापकता र अनुपात झन्झन् जटिल बन्दै गएको तथा त्यसले चुनौती थपेको वास्तविकता औँल्याउँदै मन्त्री ज्ञवालीले त्यसको सामना कुनै एउटा संस्थाले मात्र गर्न नसक्ने बताए ।
मन्त्री ज्ञवालीले विविध जातीय, सांस्कृतिक, सामाजिक एवं ऐतिहासिक वर्णनले द्वन्द्वका फरक राजनीतिक तथा आर्थिक आयाम प्रकट गर्ने विचार व्यक्त गरे ।
फेसबुक पेज Like गर्नुहोस