काठमाडौं – नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाले चाडपर्व नजिकिँदै गर्दा समेत एकाधबाहेक ठूला सञ्चारगृहले अहिलेसम्म श्रमजीवी पत्रकार ऐनबमोजिमको न्यूनतम पारिश्रमिक तथा दशैँ पेश्की उपलव्ध नगराएकामा आपत्ति जनाएको छ ।     

ती सञ्चारगृहले सूचना तथा प्रसारण विभागको प्रेसपास प्रयोजनार्थ पत्रकारको तलबी विवरण अझैसम्म पनि नबुझाएको प्रति पनि शाखाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सबैभन्दा धेरै पत्रकार आवद्ध रहेको सो शाखाका अध्यक्ष शान्तराम बिडारीले विज्ञप्ति जारी गरी बढ्दो महङ्गीलाई ध्यान दिई स्वरोजगारमुखी तथा साना लगानीमा सञ्चालित मिडियाबाहेकका पत्रकारलाई न्यूनतम पारिश्रमिक मासिकरुपमा कम्तीमा पनि रु ३० हजार हुनुपर्ने स्मरण गराएका छन् ।     

नेपाल पत्रकार महासङ्घको केन्द्रीय समितिले सञ्चार प्रतिष्ठानहरुले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक र श्रमजीवी पत्रकार ऐनअनुसारको सेवासुविधा लागू गरेरनगरेको अनुगमन गरिरहेको छ ।