काठमाडौं - भ्रष्टाचारविरुद्ध अभियान चलाएर चर्चामा आएका ज्ञानेन्द्र शाहीमाथि भएको आक्रमणविरुद्ध नागरिकले आवाज उठाउन थालेका छन् ।

यसै क्रममा आइतबार माइतीघर मण्डलामा ‘नेपालका लागि नेपाली’ राष्ट्रिय अभियानका अभियन्ताहरुले प्रदर्शन समेत गरे । माइतीघरमा सहभागीहरुले शाहीमाथि सांघातिक आक्रमणको घोर भत्सना गरेका थिए । प्रदर्शनकारीले दोषीलाई तत्काल कारबाही गर्न माग गरेका थिए ।

भ्रष्टाचार विरुद्ध अभियानमा लाग्‍नेहरुमाथि मार्ने उद्देश्‍य राखेर आएकाहरु कम्‍युनिष्ट, समाजवादी पार्टी नभइ फासिष्ट प्रवृतिका, आपराधिक मानसिकता बोकेकाहरुले झुण्ड भएको सहभागीको आरोप छ ।

केपी ओलीको वर्तमान सरकार र पार्टीले सर्वोच्चमा अदालत, प्रहरी प्रशासन लगायत संवैधानिक निकायहरु कब्जा गरेर अधिनायकवाद लाद्न खोजेको समेत सहभागीको भनाइ छ ।

त्यस्तै आइतबार माइतीघरमा भेला भएका सहभागीले ओली, प्रचण्ड र गृहमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने समेत माग राखेका छन् । साथै प्रचण्ड पुत्री तथा भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले पनि राजीनामा दिनुपर्ने उनीहरुको माग थियो ।

हिजो शनिबार अज्ञात समूहको आक्रमणमा परी शाही गम्भीर घाइते भएका थिए । चितवन मेडिकल कलेजमा उपचार हुन नसकेपछि शाहीलाई आइतबार नै काठमाडौं ल्याइएको थियो ।