काठमाडौं - कृषि विकास बैंकबाट लुटिएको रकम ५० लाख रुपैयाँ मात्र रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

लुटिएको रकम यकिन हुन नसक्दा अनुसन्धानका लागि असहज पैदा भएको छ । लुटिएको रकमको परिमाण कतै डेढ करोड त कतै ४ देखि ५ करोड रुपैयाँसम्म रहेको विभिन्न सञ्चारमाध्यम स्रोतहरूबाट आइरहेको छ ।

तर कृषि विकास बैंकले नेपाल राष्ट्र बैंकलाई पठाएको औपचारिक पत्रमा ५० लाख रुपैयाँमात्र लुटिएको बताएको छ ।बैंककै कर्मचारीको युजरनेम र पासवर्ड प्रयोग गरी रकम ट्रान्स्फर गरिएको पाइएको छ ।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्रले भने, '५० लाखमात्र लुटिएको भनेर कृषि विकास बैंकबाट पत्र प्राप्त भएको छ । तर, सञ्चारमाध्यममा डेढ करोड त कतै ४–५ करोडसम्म छापिएका छन् ।'

निर्देशक मिश्रका अनुसार रकम लुटकाण्डमा कर्मचारीको नै मिलेमतो भएको आशंका गरिएको छ ।

बैंकको लाहान शाखाका कर्मचारीको युजरनेम र पासवर्ड प्रयोग गरेर त्यही कम्प्युटर वा अन्य कम्प्युटरबाट गरेजस्तो देखिने गरी रकम ट्रान्स्फर भएको हुनसक्ने आशंका गरिएको छ ।

आशंकामा प्रहरीले काठमाडौंका सुजन कार्की, निमा तामाङ, सञ्जय घले, विद्या सागर, नुवाकोटका लेमान तामाङ, लक्ष्मी तामाङ लगायत १० जना रहेको प्रहरी स्रोतले जनाएको छ ।