काठमाडौं - संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल आएका पर्यटकको पूर्ण सुरक्षा सरकारले गर्ने बताएका छन ।

राष्ट्रिय फोटो पत्रकार समूहको ‘नेपाल दर्शन–२०२०’ फोटो पुस्तक तथा पुरस्कार विवतरण कार्यक्रममा उनले नेपालमा अहिलेसम्म पर्यटक सुरक्षित रुपमा रहेका बताए । उनले पर्यटकलाई कुनै आपतविपत् परे सरकारले जुनसुकै बेला पनि उद्धार गर्ने उल्लेख गरे ।

दश वर्ष जनयुद्धका बेलामा पनि कुनै पर्यटकलाई केही भएन, त्यसले पनि नेपाल पर्यटकका लागि सुरक्षित भन्ने देखाउँछ, उनले भने, नेपाल भ्रमण वर्षमा पनि कोही पर्यटक सङ्कित हुनुपर्दैन ।

उनले पर्यटकलाई आपतविपत्मा चाँडो सुरक्षा गर्न व्यवस्था मिलाइएको जानकारी गराए । उनले अन्नपूर्ण पदमार्गमा करीब दुई सय पर्यटकलाई सुरक्षित ठाउँमा स्थान्तरण गरिएको बताए ।

उनले नेपाल भ्रमण वर्षलाई केहीले असफल बनाउने प्रयास गरेको उल्लेख गर्दै भौतिक पूर्वाधारको काम गुणात्मक रुपले अगाडि बढेको बताए । उनले भ्रमण वर्षले सबै लक्ष्य पूरा गर्न नसक्ने भन्दै भ्रमण वर्षलाई आधार वर्षका रूपमा मानेर एक दशक नेपाल भ्रमण वर्ष मनाउने सरकारको तयारी रहेको धारणा राखे ।

उनले पुस्तकमा समावेश फोटाले नेपाल चिनाएको उल्लेख गर्दै पुस्तकले पर्यटकलाई नेपाल चिन्न सहयोग मिल्ने बताए ।