नेपाललाई आज खुला दिसामुक्त राष्ट्र घोषणा गर्दै ओली
काठमाडौं - नेपाललाई आज एक विशेष समारोहकाबीच खुला दिसामुक्त राष्ट्र घोषणा गरिंदैछ । दिउँसो १२ बजे राष्ट्रिय सभागृहमा आयोजना हुने एक विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई खुल्ला दिसामुक्त राष्ट्र घोषणा गर्नेछन् । दक्षिण एसियाली राष्ट्रहरु मध्ये नेपाल खुला दिसामुक्त राष्ट्र घोषणा हुनेमा पहिलो राष्ट्र बन्नेछ ।
यसै आर्थिक वर्षभित्र नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्ने सरकारको नीति तथा कार्यक्रममा रहेकाले त्यो लक्ष्य पूरा भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म देशका कूल ५६ लाख ६० हजार २ सय १४ घरधुरीमा शौचालय बनिसकेको छ ।
२०६८ सालमा सरसफाइ गुरुयोजना बनेपछि खुला दिसामुक्त अभियान सुरु भएको थियो । राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिका अनुसार प्रदेश १ मा ९ लाख ६५ हजार २ सय ७२ र प्रदेश २ मा ९ लाख ३३ हजार ६ सय ४९ घरधुरीमा शौचालय बनेका छन् ।
त्यस्तै प्रदेश नं. ३ मा १६ लाख २२ हजार १ सय ९३, गण्डकी प्रदेशमा पाँच लाख ४८ हजार २ सय १०, प्रदेश ५ मा सात लाख ९३ हजार ९ सय ९०, कर्णाली प्रदेशमा तीन लाख सात हजार ९ सय ६५ र सुदूरपश्चिम प्रदेशमा ४ लाख ८९ हजार १२ घरधुरीमा शौचालय बनेका छन् ।
फेसबुक पेज Like गर्नुहोस