कृषि विकास बैंकबाट करिब ५ करोड चोरी भएको पुष्टि
काठमाडौं - कृषि विकास बैंकको लहान शाखाबाट ४ करोड ७३ लाख रुपैयाँ चोरी भएको पुष्टि भएको छ । सुरुमा चोरी भएको रकम डेढ करोड भनिएको थियो । तर बैंकका उपप्रबन्धक दीर्घ अर्यालले ४ करोड ७३ लाख रकम निकालिएको पुष्टि गरे ।
घटनामा संलग्न रहेको आशंकामा १२ जनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखामा बुधवार पत्रकार सम्मेलन गरी यस्तो जानकारी दिइएको हो । मुख्य अभियुक्त भने भारतमा रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ।
कृषि विकास बैंककै एक कर्मचारीको आईडी प्रयोग गरी ११ जना व्यक्तिको खातामा ४ करोड ७३ लाख रूपैयाँ ट्रान्सफर भएको पाइएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार तीमध्ये करीब ६० लाख रुपैयाँ निकालिएको थियो । पैसा निकाल्ने र त्यसमा सहयोग गर्नेहरूलाई निकालिएको पैसासहित नियन्त्रणमा लिइएको दाबी प्रहरीको छ ।
यसरी कृषि विकास बैंकको लाहान शाखाका कर्मचारीको आईडी प्रयोग गरी पैसा चोरिएको घटना आइतवारको हो । पक्राउ परेकाहरूलाई बैंकिङ कसूरअन्तर्गतको संगठित अपराधमा म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकामा बैंकका कर्मचारीहरू छैनन् । यद्यपि बैंकसँग विभिन्न किसिमको कारोवार गरिरहेका व्यक्तिहरू भने रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
फेसबुक पेज Like गर्नुहोस