काठमाडौं-नेकपा माओवादी केन्द्रका सांसद छिरिङ डम्डुल लामा भोटेले हिमाली क्षेत्रमा रहेका सबै ताल जोखिममा रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकको आकस्मिक समयमा सांसद लामाले हुम्लाको लिमीस्थित तिलगाउँमा जेठ १ गते हिमताल फुटेर गाउँ नै तहसनहस बनाएको भन्दै उनले उद्दारका लागि सरकारसँग आग्रह समेत गरे।

उनले तिलागाउँका बासिन्दा जोखिममा रहेको भन्दै तत्काल उद्धार तथा राहत सहायताको लागि सरकारको ध्यानाकर्षण गराए ।

सांसद भोटेले भने–‘हिमालपारीको गाउँ भनेर चिनिने हुम्लाको लिमीस्थित तिलगाउँमा जेठ १ गते हिमताल फुटेर गाउँ तहसनहस बनाएको छ । ४७ सय मिटरमाथि रहेको हिमताल फुट्दा तिलागाउँमा जनधनको क्षति पुगेको छ । काठका पाँचवटा पुल बगाएको छ । चार पाँच सय रोपनी खेतीमा लाग्ने सिंचाइकुलो क्षतविक्षत बनाएको छ भने १५ किलोवाट क्षमताको विद्युत परियोजना तहसनहस भएको छ ।’

तिलगाउँमा १८ घरका ३२ जना रहेको भन्दै उनले पहिरोपछि उनीहरू नजिकैको बारीमा त्रिपालको छानोमुनि बसिरहेको बताए ।

उनले भने–‘१८ घरपरिवारका ३२ जना नजिकैको बारीमा त्रिपाल लगाएर बसेका छन् । २१ महिला, ९ पुरुष, दुई बालक जोखिममा छन् । अप्ठेरो र त्रसित अवस्थामा बसिरहेका छन् ।’