काठमाडौं - प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सत्तारुढ नेकपा चिनियाँ कम्युनिष्ट पार्टीको भ्रातृ संगठन जस्तो भएको टिप्पणी गरेको छ ।

सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चिनियाँ कम्युनिष्ट पार्टीको भ्रातृ संस्था जस्तो बन्न खोजेको टिप्पणी गरेका हुन् ।

‘अहिले नेपाल कम्युनिस्ट पार्टीले चिनियाँ कम्युनिस्ट पार्टीको आर्थिक मोडालिटी मात्र होइन, राजनीतिक मोडालिटीमा नेकपा अगाडि बढाउने सोचका साथ तालिमको सुरुवात गर्नुभएको छ’, खाँडले भने ।

चिनियाँ पार्टी कसरी चलेको छ, कसरी नियन्त्रण गरेको छ भनेर नेकपालाई प्रशिक्षण दिन चिनियाँ कम्युनिस्ट पार्टीका विज्ञहरु नेपाल आएको खाँडको भनाइ छ ।

‘कुनै पार्टीसँग भाइचारा सम्बन्ध हुनसक्छ, देशहरुसँग मैत्रीपूर्ण सम्बन्ध हुन्छ’, खाँडले भने,  ‘तर त्यो मुलुकमा जस्तो खालको शासन व्यवस्था छ, हुबहु अर्को मुलकमा हुनुपर्छ भन्ने मान्यता नै अलोकतान्त्रिक हो, अप्रजातान्त्रिक र राष्ट्रघाती हो ।’ नेकपा जसरी अगाडि बढेको छ, त्यो नेपाली जनता र राष्ट्रवादका लागि चिन्ताको विषय भएको समेत उनले बताए ।

कार्यक्रममा कांग्रेसका अर्का नेता एनपी साउदले नेकपा नेतृत्वको वर्तमान सरकारको प्रष्ट परराष्ट्र नीति नै नभएको टिप्पणी गरे । सत्तारुढ नेकपाले नरेन्द्र मोदी आउँदा भाजपालाई अँगाल्ने र चिनियाँ नेता आउँदा ‘सी पथ अँगाल्ने’ गरेको उनको आरोप छ ।