सुर्खेत गाईगोरु मृत्यु प्रकरण : छानबिन प्रतिवेदन गृहमन्त्रीसमक्ष पेश
काठमाडौं - नेपालगञ्जबाट दैलेख लैजाने क्रममा सुर्खेतको कटकुुवा जंगलमा गाईगोरु मरेको घटनाका सम्बन्धमा छानबिन गर्न बनेको समितिले बुधवार गृहमन्त्री रामबहादुर थापालाई आफ्नो प्रतिवेदन बुझाएको छ ।
गृह मन्त्रालयका अनुसार छानबिन समितिले घटनामा केही व्यक्ति दोषी देखिएकाले कारवाहीका लागि सिफारिस गर्दै बुधवार गृहमन्त्री थापालाई प्रतिवेदन पेश गरेको हो । प्रतिवेदन बुझ्दै गृहमन्त्री थापाले प्रतिवेदनको सिफारिसका आधारमा दोषीलाई कारवाही गर्ने प्रतिबद्धता जनाए ।
गत भदौ १२ गते बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले दैलेख पठाएको झण्डै ३०० मध्ये ३५ गाईगोरु सुर्खेतको कटकुवा जंगल आसपास क्षेत्रमा मृत फेला परेका थिए । घटनापछि भदौ १४ गते गृह मन्त्रालयले गाईगोरुको अस्वभाविक मृत्यु भएको भन्दै घटनाको सत्यतथ्य पत्ता लगाई दोषीलाई कारवाहीको सिफारिस गर्न मन्त्रालयका उपसचिव सागरमणि पाठकको संयोजकत्वमा ४ सदस्यीय छानबिन समिति गठन गरेको थियो ।
समितिले घटनास्थलका साथै बाँके, सुर्खेत, दैलेखका सम्वद्ध अधिकारी, स्थानीय समुदाय, नेपालगञ्ज उपमहानगरपालिकाका पदाधिकारी, नगर प्रहरी, ट्रक चालक लगायतसँग भेटेर छलफल र स्थलगत अध्ययन गरी प्रतिवेदन तयार पारेको संयोजक पाठकले जानकारी दिए ।
सो घटनामा नेपालगञ्ज उपमहानगरपालिकाको लापरवाही देखिएको भन्दै स्थानीयले कारवाहीको माग गरेका थिए । उपमहानगरपालिकाको अगुवाइमा ती गाईगोरुलाई काञ्जीहाउसबाट दैलेख पठाउने क्रममा घटना भएको थियो । उपमहानगरपालिकाले नियतवश घटना भएको अस्वीकार गर्दै आएको छ ।
फेसबुक पेज Like गर्नुहोस