काठमाडौं - नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नेतृत्वमा हेरफेर गरेको छ । विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीलाई सचिवालयमा तानिएको हो ।

प्राधिकरणले विमानस्थलका महाप्रबन्धक क्षेत्रीलाई सचिवालय तान्दै सुरेशमान सिंहलाई निमित्त महाप्रबन्धकको जिम्मेवारी प्रदान गरेको छ ।

प्राधिकरण स्रोतका अनुसार क्षेत्रीले चिनियाँ राष्ट्रपति सी जिनपिङको आसन्न नेपाल भ्रमणबारे सूचना चुहाए पछि यस्तो निर्णय लिइएको हो ।

क्षेत्रीको सरुवा नियमित प्रशासनिक प्रक्रिया अनुसार नै भएको प्राधिकरणका सूचना अधिकृत त्रिलोचन पौडेलले जिकिर गरे । तर, चिनियाँ राष्ट्रपतिको भ्रमणको पूर्वसन्ध्यामा मुलुककै एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको नेतृत्वमा परिवर्तन गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।