काठमाडौं-कपन डुबान समस्या समाधानको माग गर्दै बुढानीलकण्ठ नगरपालिकाका जनप्रतिनिधिहरुले काठमाडौं उपत्यका विकास प्राधिकरणको अनामनगरस्थित कार्यालयमा विरोध प्रदर्शन गर्दै धर्ना दिएका छन् ।

नगर प्रमुख मिठाराम अधिकारी नेतृत्वको टोलीले कपन डुबान हुनुमा प्राधिकरण जिम्मेवार रहेको भन्दै धर्ना दिएको हो ।

कपन क्षेत्रका नागरिकले डुबान, दुर्गन्ध र जनस्वास्थ्य समस्याको सास्ती व्यहोर्दै आएका छन् ।

धर्ना कार्यक्रममा बुढानीलकण्ठ नगरपालिका–१०, ११ र १२ का वडाध्यक्षहरू, पूर्व प्रदेश सांसद तथा स्थानीय बासिन्दाहरूको उपस्थिति थियो ।

नगरपालिकाका प्रवक्ता तथा १० नम्बर वडाध्यक्ष नवराज भट्टराईले उपत्यका विकास प्राधिकरण तथा काठमाडौं जिल्ला आयुक्तको कार्यालयले बुढानीलकण्ठ क्षेत्रका योजनाहरूमा ढिलासुस्ती र गैरजिम्मेवारपूर्ण रवैया देखाएकाले धर्ना दिइएको बताएका छन् ।

नगरपालिकाका अनुसार कपन क्षेत्रमा डुबान समस्या हल गर्न झण्डै तीन वर्षअघि ठेक्का दिइएको आयोजनाले दुई वर्षमै सम्पन्न गर्ने लक्ष्य राखिए पनि हालसम्म करिब ३० प्रतिशत मात्र काम भएको छ ।