काठमाडौं - विभिन्‍न चार राजनीतिक दलका महिला संगठनहरुले संसद् विघटनको विरोध गर्दै संयुक्त संघर्षका कार्यक्रम घोषणा गरेका छन् ।

अखिल नेपाल महिला संघ (अनेम), समाजवादी महिला संघ नेपाल, अखिल नेपाल महिला संघ र साझा विवेकशील (महिला) संघले बिहीबार संयुक्त रुपमा पत्रकार सम्मेलन गरी संघर्षका कार्यक्रम घोषणा गरेका हुन् ।

पुस ५ गते मन्त्रिपरिषद्‌को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा गरिएको संसद् विघटनको विरोधमा संघर्षका कार्यक्रम घोषणा गरेको समाजवादी महिला संघ नेपालकी अध्यक्ष निर्मला यादवले बताइन् । 

सरकारको कदम व्यक्तिवादी सोच, अधिनायकवादी विचार, निरंकुश शासकको चरित्र, देश र जनताप्रतिको गैरजिम्मेवारी र नालायकीपन ठहर गर्दै आन्दोलनको घोषणा गर्नुपर्ने उनले बताइन् ।

सरकारको कदमविरुद्ध नेपाल बार एसोसिएसनका पदाधिकारीसँग छलफल गर्ने, संविधानविद्हरुसँग अन्तर्क्रिया गर्ने, प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाउने र देशव्यापी जनप्रदर्शन गर्ने गरी संघर्षका कार्यक्रम घोषणा गरिएको पनि अध्यक्ष यादवले बताइन् ।

प्रतिनिधिसभा विघटनले प्राप्त उपलब्धि संस्थागत नभई प्रतिगामी शक्तिहरु सल्बलाउने भन्दै महिला संगठनहरुले सरकारको यो कदम नस्वीकार्ने बताएका छन् । देश कोरोना कहर र आर्थिक संकटकाबीच गुज्रिरहेकोले सरकारले गरेको चुनावी घोषणाले देशको आर्थिक अवस्था अझ धरासायी बन्ने निष्कर्ष उनीहरुको छ ।