दार्चुलाको दुईवटा मतदान केन्द्रमा मतदान गर्न कोही आएनन्
काठमाडौं - दार्चुलाको अपि हिमाल–३ स्थित दुधिला मावि र नौगाड गाउँपालिका–१ को गौरीशंकर आधारभूत विद्यालय नागुको मतदान केन्द्रमा अहिलेसम्म मतदान नै सुरु भएको छैन । स्थानीय कोही पनि मत हाल्न नआएपछि सुरु नभएको हो ।
यसअघि यहाँका स्थानीयले यहाँका दुई वटा केन्द्रमा मतदानमा सहभागी नहुने निर्णय गरेका थिए । नौगाड गाउँपालिका–१ को गौरीशंकर आधारभूत विद्यालय नागु र अपिहिमाल गाउँपालिका–३ को दुधिला आधारभूत विद्यालय झुस्कुका मतदाताले मतदान नगर्ने निर्णय गरेका हुन् ।
सुदूरपश्चिम प्रदेश सरकारका मुख्य सचिव बैकुण्ठ अर्याल बुधबार त्यहाँ पुगेर नागुबासीसँग छलफल गरे पनि उनीहरू मत नहाल्नेमा अडिग रहे । नागु विकास संघर्ष समितिसँग छलफल गर्न धनगढीबाट नेपाली सेनाको हेलिकप्टर चढेर अर्याल बुधबार दिउँसो नागु पुगेका थिए ।
माघ १ गतेबाटै संघर्ष समिति बनाएर नो भोटका पक्षमा उभिएका नागुबासीले योपटकको निर्वाचनमा मतदान नगर्ने निर्णय यथावत राखेको संघर्ष समितिका संयोजक करनसिह डडालले बताएका छन् ।
प्रदेश सरकारको तर्फबाट ढिलो गरी प्रस्ताव आएको कारण जनतासँग छलफल गर्न पनि समय नभएको उनको भनाइ छ । यसअघि नागुवासीलाई फकाउन माघ २४ गने प्रमुख जिल्ला अधिकारी अनिल पौडेल नेतृत्को टोली पुगेको थियो ।
निर्वाचन गराउन नागु पुगेको मतदान अधिकृत चन्द्रसिंह खातीले सर्वदलीय बैठकमा दलको प्रतिनिधि नआए पनि स्थानीयको सहभागितामा निर्वाचनको तयारी थालिएको थियो ।
नागुस्थित गौरीशंकर माध्यमिक विद्यालय मतदान केन्द्रमा ६०२ मतदाता रहेका छन् भने दुधिला आधारभूत विद्यालय मतदान केन्द्रमा ३४६ जना मतदाता रहेका छन् । यस्तै अपिहिमाल गाउँपालिका–३ का केही बस्तीका बासिन्दाले फागुन १५ गतेबाट नो भोट अभियान चलाएका थिए ।
उनीहरुले २०७४ सालमा भएको वडा विभाजनले वडा नम्बर ३ का अधिकांश वस्तीलाई अपायक ठाउँमा वडा कार्यालय रहेको भन्दै वडा विभाजन नभएसम्म मतदान नगर्ने निर्णय गरेका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस