काठमाडौं - १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष भलिबलको दोस्रो सेमिफाइनलमा बंगलादेशलाई हराउँदै पाकिस्तान फाइनल प्रवेश गरेको छ। पाकिस्तानको यो जितसँगै उसले फाइनलमा भारतसँग भिड्ने निश्चित भएको छ।

आइतबार राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहल त्रिपुरेश्वरमा भएको खेलमा पाकिस्तानले बंगलादेशलाई ३-० को सोझो सेटले पराजित गरेको हो। 

पहिलो सेट २५-१५ ले सहज रूपमा जित हात पारेको पाकिस्तान दोस्रो र तेस्रो सेटमा भने केही दबाबमा पर्‍यो। दोस्रो सेटमा २५-२१ ले विजयी हुँदा तेस्रो सेटमा २६-२४ को संघर्षपूर्ण जित निकाल्यो।

पाकिस्तानले अब स्वर्ण पदकका लागि फाइनलमा मंगलबार भारतसँग भिड्नेछ। भारत श्रीलंकालाई ३-१ को सेटमा पराजित गर्दै फाइनल पुगेको हो।