काठमाडौं - स्वदेश फर्कन पाउनुपर्ने माग राख्दै शुक्रबार सिंहदरबारमा प्रदर्शन गर्ने चिनियाँहरुलाई नेपालको नीति नियम पालना गर्न काठमाडौंस्थित चिनियाँ दूतावासले आग्रह गरेको छ ।

दूतावासले प्रेस नोट जारी गर्दै संविधान, नेपाल प्रहरी र दूतावासको सहकार्यमा पूर्णरुपमा सो घटनालाई सुल्झाइएको जनाएको छ । साथै, आफ्ना नागरिकलाई कडाईका साथ नेपालको कानुनको पालना गर्न र अनावश्यक रुपमा बाहिर ननिस्किन भनेका छन् ।

‘नेपालमा रहेका चीनका नागरिकसँग कडा रुपमा नेपालको नीति–नियम पालना गर्न चिनियाँ पक्षले सधैं भन्ने गरेको छ, उनीहरुलाई कानूनसम्मत रुपमा तर्कसंगत माग राख्न भनिएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

दूतावासका अनुसार यसअघि चिनियाँ दूतावासले नेपाल सरकारसँग सहकार्य गरेर ३४० जनालाई चीन फिर्ता लगेको थियो । नेपालले अन्तर्राष्ट्रिय उडान मे ३१ सम्म स्थगित गरेको र सीमित उडान क्षमताको कारण धेरै चिनियाँ नागरिकहरु अहिले पनि नेपालमा फसेका छन् । उनीहरुलाई पनि स्वदेश फर्काउन नेपाली पक्षसँग सम्पर्क कायम राख्ने काठमाडौंस्थित चिनियाँ दूतावासले जनाएको छ ।

यस विषयमा नेपाली पक्षसँग संवाद भइरहने र नेपाल र चीनले एकअर्कालाई बुझेर लकडाउन नियमका कारण उत्पन्न विभिन्न घटनालाई संयुक्त रुपमा सम्बोधन गर्ने विज्ञप्तिमा उल्लेख छ ।