मानव बेचबिखन मुद्दामा कांग्रेस वडाध्यक्ष जेल चलान
काठमाडौं - नेपाली कांग्रेसबाट वडाध्यक्ष जितेका शिवबहादुर थापा मानब बेचबिखन मुद्दामा पुर्पक्षका लागि जेल चलान भएका छन् । उनी स्याङ्जाको पुतलीबजार नगरपालिका– ४ का निर्वाचित वडाध्यक्ष हुन् ।
तेञ्जी शेर्पाको जाहेरीले नेपाल सरकार वादी रहेको मानव बेचबिखन मुद्दामा उनलाई पुर्पक्षमा थुनामै राख्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको हो । न्यायाधीश ठाकुरप्रसाद खरेलको बेञ्चले जेठ २५ गते त्यस्तो आदेश दिएको हो ।
वडाध्यक्ष थापाले पीडित शेर्पालाई अमेरिका पठाइदिने भनी आर्थिक कारोबार गरेका थिए । अमेरिका लैजान भनी विभिन्न देश घुमाएर शेर्पालाई विदेशमै अलपत्र पारी थापा स्वदेश फर्किएका थिए । उनका विरुद्ध पीडित शेर्पाले प्रहरीको मानव बेचबिखन अनुसन्धान व्युरोमा जाहेरी दिएकी थिइन् । उनलाई प्रहरीले वैशाख अन्तिम साता काठमाडौंबाट पक्राउ गरेको थियोे ।
२०७९ सालको स्थानीय तह निर्वाचनमा चुनाव जितेपछि थापाले करिब १५ महिनामात्रै वडाध्यक्षको जिम्मेवारी सम्हाले । २०८० भदौ १५ गते स्वास्थ्य उपचारको कारण देखाउँदै वडा सदस्य लीलावती पौडेललाई कार्यवाहक दिएर काठमाडौं बस्न थालेका थिए । अमेरिका जान भनी आफन्तबाट बिदा भएर केही महिना काठमाडौंबाट हराएका थिए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस