काठमाडौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओली र भारतको गुप्तचर संस्था रअका प्रमुख सामन्त गोएलबीचको भेटवार्तालाई कुटनीतिक मर्यादा विपरित भएको बताएका छन् ।

उक्त भेटले राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय हितलाई कमजोर पार्ने काम हुनसक्ने श्रेष्ठको भनाई छ ।

गत बुधबार बेलुका बालुवाटारमा प्रधानमन्त्री ओली र रअ प्रमुखबीच भेटवार्ता भएको थियो । प्रधानमन्त्रीको सचिवालयले भने शिष्टाचार भेट भएको बताएको थियो ।

पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका श्रेष्ठले फेसबुकमा लेखेका छन्, 'विदेशी गुप्तचर अधिकारीसँग प्रमको भेट र कुटनीतिक मुल्य र आचारसंहिता विपरीतको यस्तो भेट किन ? यसप्रकारको कर्यबाट राष्ट्रिय स्वाभिमान ,प्रतिष्ठा र कुटनीतिक ओझ गिर्ने मात्र होइन ,अन्ततस् राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय हितलाई कमजोर पार्ने काम हुन सक्दछ ।'

परराष्ट्र मन्त्रालयको संस्थागत जानकारी र उपस्थिति बिना ओलीले भेटवार्ता गरेको श्रेष्ठको भनाइ छ । यसबारे ओलीले पार्टी पूर्वजानकारी नदिएको सेत बताए ।

'भारतको गुप्तचर सँस्था र प्रमुख सामन्त गोएल बिमान नै चार्टर गरी आफ्नो टोली सहित नेपाल आएर हाम्रा प्रधानमन्त्रीसँग 'वार्ता' गरेर फिर्ता भएछन् । प्रधानमन्त्री ओलीले परराष्ट्र मन्त्रालयको संस्थागत जानाकारी र उपस्थिति बिना उनलाई भेट्नुभएछ। हाम्रो पार्टीलाई यसबारेमा कुनै पुर्व जानाकारी थिएन र पछि पनि पार्टीमा यसबारेमा कुनै सँस्थागत एवं औपचारिक छलफल भएको छैन । त्यसैले यस सम्बन्धमा यहाँ व्यक्त बिचार मेरो निजी बिचार हो ।मेरो विचारमा नेपालको राजनीतिक एवं कुटनीतिक इतिहासमा यस प्रकृतिको यो पहिलो घटना हो ।' उनले भनेका छन् ।

नेपालको राष्ट्रिय अनुसन्धान बिभागको प्रमुखले आफ्नो समकक्षीलाई निश्चित बिषयमा छलफल गर्न भ्रमणको लागि निमन्त्रणा गरेको हो भने कुटनीतिक मर्यादा अनुरुप शिष्टाचार भेट हुन सक्दथ्यो तर, त्यो होइन भन्ने स्पष्ट भइसकेको उनको भनाई छ ।