काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आफू निसन्तान हुनुमा हिनताबोध नभएको बताएका छन् ।

प्रेस संगठन नेपालको ओली पक्षीय भेलालाई विहीवार काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफ्ना छोरीज्वाइँलाई अवसर दिएर आफ्नो आह्वानमा जीवन दिने योद्धाका छोराछोरीको बिजोग बनाएको आरोप लगाए ।

प्रचण्डलाई कटाक्ष गर्दै ओलीले भने, ‘केपीका छोराछोरी छैनन्, मेरा त छोरी छन् ज्वाइँ छन् हेर्नै पर्‍यो । छोरीलाई मेयर बनाउनै पर्‍यो, मतले नपुगे मतपत्र च्यात्नै पर्‍यो । ज्वाइँलाई घरघडेरी किन्दिनै पर्‍यो । मेरा त सन्तान छन् दिन्छु भनेछन् एकजनाले । गज्जब बहादुर हो । सुसुरो होस् त्यस्तो होस् ।’

ओलीले आफूले देशका सबै केटाकेटीलाई आफ्नै सन्तान मानेको भन्दै प्रचण्डले योद्धाका छोराछोरीको बिजोग बनाएको बताए ।

'उहाँलाई त्यो ठाउँमा पुर्याउने योद्धाहरुका छोराछोरी छन् कि छैनन् ? उनीहरुका ज्वाइ छन् कि छैनन् ? ज्यान दिने बेला जनताका छोराछोरी चाहियो,लड्ने बेला आफ्ना छोराछोरी विदेशमा राख्ने अनि तर मार्ने बेला मेरा त छोराछोरी छन् भन्ने ? जनताका छोराछोरी खेलाउने पुतली हुन् ? उनीहरुको अवस्था के छ ?' ओलीले भने ।