काठमाडौं,जनकपुर-प्रधानमन्त्री केपी शर्मा ओलीले आज एकैपटक ६४ वटा सडक शिलान्यास गर्ने भएका छन् ।

मधेस प्रदेशको राजधानी जनकपुरधाममा आज एकैपटक ६४ वटा पक्की सडकहरुको शिलान्यास गर्ने कार्यक्रम रहेको छ । मधेस प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले त्यसको आयोजना गरेको हो ।

प्रधानमन्त्री ओली जनकपुरधामस्थित निधी भवनमा डिजिटल प्रविधिबाट एकैपटक मधेसको ६४ वटै प्रादेशिक निर्वाचन क्षेत्रमा पाँच किलोमिटरको एक–एक सडक गरी ६४ सडकको शिलान्यास गर्ने कार्यक्रम रहेको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।

कूल ३२० किलोमिटर सडक निर्माणका लागि तीन आर्थिक वर्षमा सम्पन्न हुने गरी बहुवर्षीय खरिद गुरुयोजनाहरु स्वीकृत भई डीपीआरसमेत सकेर शिलान्यास गर्न लागिएको हो ।

साढे ५ मिटर चौडाई भएको उक्त सडक निर्माणमा कुल खर्च १२ सय ७० करोड खर्च हुने बताइएको छ।

मन्त्रालयले विश्व बैंकको सहयोगमा प्रादेशिक तथा स्थानिय सडक सुधार कार्यक्रम अन्तर्गत १ सय ९८ किलोमीटर कालोपत्रे सडक निर्माण, ३ सय २६ किलोमीटर बृहत सडक मर्मत र एक हजार किलोमिटर सडकको नियमित मर्मत सम्भार हुने पनि जनाएको छ।